तिब्बतबाट आएको बाढीले भोटेकोशी नदी हुँदै नेपालका जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्याएको छ। इप्पानका अनुसार ६०० मेगावाटभन्दा बढी क्षमताका आयोजना प्रभावित भएका छन्। २५० मेगावाट बराबरका उत्पादन रोकिएका छन् भने ३५० मेगावाटभन्दा बढी निर्माणाधीन आयोजना ठप्प छन्। रसुवागढी, त्रिशूली ३ ‘ए’, चिलिमे, माथिल्लो मैलुङ लगायतका आयोजनामा उत्पादन बन्द भएको छ। प्रसारण लाइन तथा सबस्टेसनहरूमा क्षति पुगेको छ। इप्पानले उद्धारमा संलग्न निकायलाई धन्यवाद दिँदै पुनर्निर्माणमा सहजीकरण गर्न सरकारसँग आग्रह गरेको छ। साथै, मृतकप्रति श्रद्धाञ्जली अर्पण र भविष्यमा जोखिम न्यूनीकरणका उपाय अवलम्बन गर्न माग गरेको छ।
२०८२ असार २६ गते
उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकालाई भ्यू टावरको निर्माण रोक्न नपर्ने अन्तरिम आदेश दिएको छ। सोमबार न्यायाधीश प्रकाश खरेलको इजलासबाट जारी आदेशमा निर्माण कार्य वैध रूपमा अगाडि बढिरहेको भन्दै रोक्का नगर्न भनिएको हो। मेयर बालेन्द्र शाहको निर्देशनमा माघ ९ गते रोकिएको काम पुनः अघि बढ्ने भएको छ। निर्माण कम्पनी जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सले अदालतमा रिट दायर गरेपछि यो आदेश आएको हो। कम्पनीले १२ तलेको अनुमति लिएर पछि १९ तले नक्सा स्वीकृति पाएको र सबै प्रक्रिया पूरा गरेको जनाएको छ। अब कम्पनीलाई टावर निर्माण जारी राख्न कानुनी बाटो खुलेको छ।
२०८२ असार २६ गते
नेपाल टेलिकमले ललितपुरको पाटन कार्यालयअन्तर्गतका विभिन्न क्षेत्रमा सञ्चालित 'फाइबर टू द होम' (FTTH) सेवामा आज राति मर्मत कार्य गर्ने जनाएको छ। टेलिकमका अनुसार असार २५ गते, बुधवार राति ११ बजेदेखि असार २६ गते बिहीबार बिहान ६ बजेसम्म मर्मत तथा सम्हार कार्य हुने भएकाले इन्टरनेट, टेलिफोन र टिभी सेवा अस्थायी रूपमा अवरुद्ध हुन सक्नेछ। एकान्तकुना, थसिखेल, महालक्ष्मीस्थान लगायतका क्षेत्रमा सेवा प्रदान गरिरहेको FTTH नेटवर्कमा नियमित आन्तरिक मर्मत गरिन लागिएको टेलिकमले स्पष्ट पारेको छ। सेवा अवरुद्ध हुँदा ग्राहकलाई पर्न सक्ने असुविधाप्रति क्षमायाचना गर्दै, टेलिकमले समयमै सूचना दिइसकेको जनाएको छ। साथै, यदि मर्मत कार्य निर्धारित समयअघि नै सम्पन्न भयो भने सेवा पनि यथाशीघ्र पुनः सञ्चालन गरिने टेलिकमले जनाएको छ। यस्तै, सेवा अवरुद्धसम्बन्धी थप जानकारी वा सहयोग आवश्यक परेमा, ग्राहकले १९७ नम्बर वा पाटन कार्यालयको ०१–५४५३३६३ मा सम्पर्क गर्न सक्ने टेलिकमले आग्रह गरेको छ।
२०८२ असार २५ गते
मुगुको जिमा केन्द्रबिन्दु भएर आइतबार दिउँसो २ बजेर ३४ मिनेटमा ४.८ म्याग्निच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार उक्त भूकम्पको धक्का जिमा आसपासका क्षेत्रहरूमा पनि महसुस गरिएको थियो।
२०८२ असार १५ गते
प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालयमा पढाउने शिक्षकका लागि लाइसेन्स अनिवार्य बनाउने निर्णय गरेको छ। अब शिक्षा विषय नपढेकाहरूले पनि शिक्षक बन्न पाउनेछन्। शिक्षक सेवा आयोगले लिने लाइसेन्स परीक्षा अनिवार्य हुनेछ। साथै, पाठ्यक्रम फेरिएको बेला वा हरेक पाँच वर्षमा सरकारले तय गरेको तालिम लिनुपर्नेछ। यो तालिमपछि मात्रै शिक्षकको नवीकरण (अद्यावधिक) हुने व्यवस्था समितिले तय गरेको छ।
२०८२ असार १५ गते
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा जारी गरिएको आदेशअनुसार १२ देशका नागरिकहरूलाई अमेरिका प्रवेशमा प्रतिबन्ध आज (सोमबार)देखि लागू भएको छ। ट्रम्पले यो कदम विदेशी आतंकवादीबाट अमेरिका जोगाउने उद्देश्यले चालेका हुन्। प्रतिबन्धित देशहरूमा अफगानिस्तान, म्यानमार, चाड, कङ्गो, इरिट्रिया, हाइटी, इरान, लिबिया, सोमालिया, सुडान, यमन र इक्वेटोरियल गिनी छन्। साथै बुरुन्डी, क्युबा, लाओस, सिएरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएलामा आंशिक प्रतिबन्ध लागू हुनेछ।
२०८२ जेष्ठ २६ गते
काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे ६ महिनाका लागि निलम्बनमा परेका छन्। प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले पाण्डेलाई कार्यालय प्रवेशमा अवरोध पुर्याएको भन्दै कारबाहीस्वरूप निलम्बन गरेका हुन्। यसअघि गुरागाईंले पाण्डेलाई उक्त घटनाबारे स्पष्टीकरण मागेका थिए। स्पष्टीकरण सन्तोषजनक नदेखिएपछि उनलाई निलम्बन गरिएको हो।
२०८२ जेष्ठ २० गते
सरकार र यातायात व्यवसायीबीच गण्डकी प्रदेशको राइड सेयरिङ निर्देशिका विरुद्धको आन्दोलनबारे भएको वार्ता ६ बुँदे सहमतिको मस्यौदासहित सकारात्मक रूपमा टुंगिएको छ। संघीय कानुन नबनेसम्म प्रदेशस्तरीय निर्देशिका स्थगन गर्न सिफारिस गरिने सहमति भएको छ। व्यवसायीहरूले आन्दोलन फिर्ता लिन गण्डकी सरकारले विवादित बुँदा हटाउनु पर्ने अडान राखेका छन्। सहमतिमा सर्वोच्च अदालतको परमादेश कार्यान्वयन, सार्वजनिक यातायात सुधार, सवारी साधन भारवहन क्षमता, श्रमिकको सामाजिक सुरक्षा कोषमा सूचीकरण, र सार्वजनिक सवारीको आयु सम्बन्धी आदेश कार्यान्वयनजस्ता बुँदा समेटिएका छन्। आज पुनः वार्ता हुँदैछ।
२०८२ जेष्ठ २० गते
सरकारले अब वृद्धभत्ता (ज्येष्ठ नागरिक भत्ता) पाउने उमेर सीमा ७० वर्षमा कायम गर्ने निर्णय गरेको छ। पहिले वृद्धभत्ता पाउने उमेर ६८ वर्ष थियो। उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग, २०८१ को सिफारिसका आधारमा तयार गरिएको कार्ययोजना मन्त्रिपरिषद्बाट स्वीकृत भएसँगै यो व्यवस्था एक वर्षभित्र लागू गरिनेछ। त्यस्तै, कार्ययोजनामा उल्लेख अनुसार अबदेखि सामाजिक सुरक्षा भत्ता लिन ज्येष्ठ नागरिकले अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र पेस गर्नुपर्ने व्यवस्था पनि लागू हुनेछ।
२०८२ जेष्ठ ११ गते
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटन प्रवर्धनका लागि पूर्वाधार विकास, अन्तरदेशीय कनेक्टिभिटी विस्तार र नेपाल वायुसेवा निगमलाई प्रभावकारी बनाउनुपर्ने बताएका छन्। तेस्रो बौद्ध अन्तर्राष्ट्रिय यात्रा मार्टको उद्घाटनमा बोल्दै उनले लुम्बिनीसहित बौद्ध स्थलहरूलाई समेट्ने ‘बौद्ध सर्किट’ विकास गर्नुपर्ने र भारतका प्रमुख स्थलहरूसँग सशक्त सम्बन्ध जोड्नुपर्ने धारणा राखे। उनले लुम्बिनी भ्रमणका लागि विश्वभरका बौद्ध धर्मावलम्बीलाई प्रेरित गर्नु आवश्यक रहेको बताए। हवाई भाडा महँगो हुनु र टिकटमा लाग्ने भ्याटले यात्रुमा भार परेकाले सरकारले पुनर्विचार गर्नुपर्नेमा उनले जोड दिए।
२०८२ जेष्ठ ९ गते